मलंगवा ।। नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग राख्दै मलंगवामा स्थानीय जनप्रतिनिधिहरुहरुले सिमाना नजिकै पुगेर धर्ना दिएका छन् ।
मलंगवा–सोनवर्षा सीमा नजिकै मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा धर्ना दिएका हुन् । भारतसँग सिमाना जोडिएका नगरपालिकाका मेयर, गाउँपालिकाका अध्यक्ष, प्रदेश सभा सदस्यहरु पनि धर्नामा बसेका थिए ।
चाडपर्व र विहेबारीको समयमा नाका बन्द हुँदा सीमा नजिकैका स्थानीयहरुको जनजीवन प्रभावित भएको भन्दै उनीहरुले नाका खोल्नुपर्ने माग राख्दै धर्ना दिएका हुन् । सरकारलाई ध्यानाकर्षण गराउन धर्ना कार्याक्रमको आयोजना गरिएको सर्वपक्षीय जिल्ला संघर्ष समिति सर्लाहीका संयोजक एवं जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिए ।
‘सरकारले कोरोना महामारीको नाममा जनतालाई दुख दिने काम गरेको छ । धर्ना कार्यक्रमबाट कुनै सुनुवाइ भएन भने आन्दोलनको अर्को चरणको कार्यक्रम गर्नेछौँ,’ चौधरीले बताए । सिमानाका खोल्यो भने कोरोना भित्रिने भन्दै सरकारले अघोाषित नाकाबन्दी गरेको प्रदेशसभा सदस्य अशोक यादवले आरोप लगाएका छन् ।
धर्नाबाट सुनुवाइ भएन भने कडा आन्दोलन गर्न आफूहरु बाध्य हुने प्रदेशसभा सदस्य यादवले चेतावनी दिएका छन् । यस्तै गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले सरकार पूर्वाग्राही भएर नाका बन्द गरेको आरोप लगाए । साथै बिहेबारीको समयमा सीमा बन्द हुँदा कतिपय मानिसको बिहेबारी समेत रोकिएको उनीहरुको गुनासो छ ।












