जनकपुर ।। विहार विधानसभा चुनावमा तेजस्वी यादव नेतृत्वको महागठबन्धनले बहुमतका साथ सरकार बनाउने प्रक्षेपन गरिएको छ ।
भारतका विभिन्न मिडिया तथा न्युज च्यानलले गरेको एक्जिट पोलहरूमा विहारमा नितिश कुमार नेतृत्वको एनडिएलाई हार ब्यहोर्नुपर्ने उल्लेख गरिएको छ ।
शनिबार बिहारमा तेस्रो तथा अन्तिम चरणको विधान सभा निर्वाचन सम्पन्न भएपछि गरिएको प्रक्षेपनमा सत्तासीन मुख्यमन्त्री नितिश कुमार र भारतीय जनता पार्टी गठबन्धनलाई तेजश्वी गठबन्धन धक्का दिने देखाइएको छ।
एनडिटिभीको एक्जिट पोलअनुसार तेजश्वी नेतृत्वको विपक्षी गठबन्धनले २४३ मध्ये १ सय २८ सिटमा बहुमतसहित जित हासिल गर्ने र एनडिए गठबन्धनले ९९ सिट ल्याउने छ।
यसैगरी चिराग पासवान नेतृत्वको लोक जनशक्ति पार्टी (एलजेपी) ले ६ सिट ल्याउँने आँकलन गरिएको छ।
बिहारमा सरकार गठनका लागि कुनै पनि पार्टी वा गठबन्धनलाई १ सय २२ सिट आवश्यक पर्छ। टाइम्स नाउ–सी भोटर अनुसार एनडिएले ११६ र विपक्षी गठबन्धनले १ सय २० सिट जित्ने प्रक्षेपण गरेको छ। उसले चिरागको पार्टीले एक सिट जित्ने अनुमान गरेको छ।
त्यसैगरी रिपब्लिक टिभीले विपक्षीलाई ११८ देखी १३८ सिट प्राप्त हुने र सत्ताशिन एनडिएले ९१ देखी ११७ सिट ल्याउने बताएको छ भने चिरागको पार्टीले ५ देखि ८ सिटमा जित हासिल गर्ने जनाएको छ।
यस्तै द इण्डिया टुडे–एक्सिज माइ इण्डिया पोलले महागठबन्धनलाई १ सय ६१ सिटमा १३९ सिट र नितिश(बिजेपी गठबन्धनले ६९ देखी ९१ सिट ल्याउने जनाएको छ भने एलजेपीले ३ देखि ५ सिट जित्ने बताएको छ।
विहार निर्वाचनको अन्तिम परिणाम मंगलबार घोषणा हुनेछ।एक्जिट पोल अनुसारकै नतिजा आएमा नितिश कुमारको लगातार चौथो पटक मुख्यमन्त्री बन्ने चाहानामा धक्का लाग्नेछ।
बेरोजगारी, आप्रवासन समस्या, कोरोना तथा बाढी व्यवस्थापनमा नितिशले आलोचना खेप्दै आएका छन् र यिनै उनको हारको कारण हुनेछ। ६९ वर्षीय नितिशले अन्तिम समयमा नाटकिय ढंगले यो नै आफू लड्ने अन्तिम निर्वाचन भएको घोषणा गरेका थिए।