काठमाडाैं ।। अमेरिकाका कैयौँ ठूला टेलिभिजन च्यानलहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावलाई लिएर गर्दै आएको टिप्पणीलाई बीचमै रोकिदिएका छन् ।
अमेरिकी च्यानलहरु– एबीसी, सीबीएस र एनबीसीले ट्रम्पको प्रेस कन्फ्रेन्सको प्रसारण बीचमा रोक्दै राष्ट्रपतिले कैयौँ झुटा बयान दिएको आफ्ना दर्शकहरुलाई बताएका छन् ।
राष्ट्रपति ट्रम्पले ‘पोस्टल मत’ लाई ‘फ्रड’ अर्थात् अवैध ठहर गरेको संवाददाताहरुले बताएका छन् ।
मतदान हुनुअघि नै ट्रम्पले आफ्ना समर्थकहरुलाई पोस्टल मत नभइ आफै गएर मतदान गर्न आग्रह गरेका थिए ।
उता जो बाइडेनले आफ्ना समर्थकहरुसँग कोरोना महामारीका बीच धेरै भन्दा धेरै सङ्ख्यामा पोस्टल मत खसाल्न आग्रह गरेका थिए ।
राष्ट्रपति ट्रम्पले शुक्रबार फेरि एक पटक विना कुनै प्रमाण वैध मत मात्र गन्ने हो भने चुनाव आफूले जित्ने बताएका थिए ।
राष्ट्रपतीय चुनावमा दुई महत्त्वपूर्ण राज्य– जर्जिया र पेन्सेलभेनियामा पोस्टल मतको गणना भइरहँदा आफ्नो अग्रता घट्दै गरेको देखेपछि ट्रम्पले यस्तो आरोप लगाएका हुन् ।
विश्लेषकहरुले भने यो दाबीमा कुनै आधार नभएको बताएका छन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुका अनुसार अमेरिकामा भइरहेको चुनाव राम्रोसँग सम्पन्न भइरहेको बताएका छन् ।
यसैबीच राष्ट्रपति ट्रम्पका समर्थकहरुले कैयौँ राज्यमा कानुनी लडाइँका लागि करोडौँ डलर जुटाउन सुरु गरेका छन् ।
अहिले विभिन्न राज्यमा मतगणना भइरहँदा बाइडेनले अग्रता बनाइरहेका छन् ।












