काठमाडौँ । ड्रग प्रकरणमा हिरासतमा रहेकी बलिवुड अभिनेत्री रिया चक्रवर्तीलाई अदालतले छाड्न आदेश दिएको छ ।
बम्बे उच्च अदालतले रियालाई सशर्त जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
अदालतले रियालाई एक लाखको निजी मुचुल्कामा जमानत दिने आदेश दिएको छ । साथै रियालाई पासपोर्ट अदालतमा जम्मा गर्न र मुम्बई भन्दा बाहिर नजान निर्देशन दिएको छ । साथै अदालतले थप बयानका लागि बोलाएको बेला आउने गरि जमानत दिने आदेश दिएको छ ।
बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणको छानबिन गर्ने क्रममा ड्रग प्रकरण बाहिर आएपछि रियालाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले सेप्टेम्बर ८ मा हिरासतमा लिएको थियो ।
अदालतले रियाका भाई शोविक चक्रवर्तीलाई भने जमानत दिन अस्वीकार गरेको छ ।
एनसीबीले भने जमानत मिलेका सबै विरुद्ध अपिल गर्ने बताएको छ ।
सुशान्त मृत्यु प्रकरणमा छानबिनका क्रममा रिया र उनका भाई शोविकको ड्रग्स सप्लायर्ससँगको ह्वाट्सएप च्याट बाहिरिएको थियो ।
बलिवुडमा ड्रग प्रकरणमा अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपुर, रकुल प्रित सिंहसँग समेत बयान लिएको थियो । तर उनीहरुविरुद्ध पर्याप्त प्रमाण फेला नपरेको बताइएको छ ।