काठमाडाैं ।। सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै विज्ञले सचेत रहन किसानलाई आग्रह गरेका छन् । प्लान्ट क्वरेण्टिन तथा विषादी व्यवस्थापन केन्द्रले सलहको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने तयारीमा रहेको भन्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । केन्द्रका अनुसार भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरेया आसपासमा अहिले सलहको नयाँ झुण्ड छ । त्यहाँ करिब एक सय ५० हेक्टर क्षेत्रफलमा सलहका दुईवटा झुन्ड छन् । ती झुन्डहरू हावाको बहावसँगै भारतको पूर्वतर्फ वाराणसी, मुजफ्फरपुर र दरभंगा आसपासको क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही जिल्लाको नाकाबाट नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको केन्द्रले जनाएको छ । केन्द्रले सूचना निकालेर झण्डै एक सय ५० हेक्टर जमिनमा फैलिएको सलहको दुई वटा ठूलो झुण्ड नेपालतर्फ अघि बढेकोले सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको हो । ती झुण्ड एकदुई दिनभित्रै महोत्तरी, धनुषा, सर्लाही लगायतका तराईका जिल्ला हुँदै नेपाल प्रवेश गर्ने सम्भावना छ,’ केन्द्रको सूचनामा भनिएको छ । त्यसैगरी भारतकै राजस्थानका विभिन्न ठाउँमा रहेका विभिन्न झुण्ड पनि दुईतीन दिनभित्र प्रदेश पाँच र सुदूरपश्चिम प्रदेश हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेको केन्द्रले जनाएको छ । यसअघि १४ असारमा सलहका विभिन्न झुण्ड भारत हुँदै नेपाल प्रवेश गरेका थिए । कतिपय ठाउँमा सलहले बालिनाली खाएर सखाप पारेका थिए । तर पछि मौसम प्रतिकूल हुँदा सलह भागेका थिए भने केही मरेका थिए । पानी निरन्तर प¥यो भने सहलले नेपाल प्रवेश गर्न नसक्ने तर पानी पर्न बन्द भयो र अहिलेको जस्तो हावाको चाप रह्यो भने नेपाल प्रवेश गर्ने ठूलो सम्भावना रहने केन्द्रले जनाएको छ ।
सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्दै, सचेत रहन किसानलाई विज्ञहरूको आग्रह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।