काठमाडाैं ।। चीनको हुवेइ प्रान्तमा रहेका नेपालीहरुलाई भोलिसम्ममा स्वदेश फर्काइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनीहरूलाई नेपाल ल्याएर कहाँ राख्ने भन्ने बारेमा आज टुङ्गो लगाइसक्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनबाट ल्याइएकाहरूलाई १५ दिन निगरानीमा राख्ने तयारी भइरहेको बताउनुभयो । ती विद्यार्थीहरूलाई नेपाल ल्याएर राख्ने क्वारेनटाइनको व्यवस्था अझै नभएको भन्दै उहाँले कुन स्थानमा राख्दा उपयुक्त हुन्छ भनेर ठाँउको खोजी भइरहेको जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले चीनको हुवेइमा ६२ जना मात्र विद्यार्थी रहेको भन्दै अन्य विद्यार्थी अझै टाढा रहेको बताउनुभयो । उहाँले चार टोली बनाएर स्थानको खोजी भइरहेको र आज बेलुकीसम्म स्थानको टुङ्गो लाग्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयले भक्तपुरस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र, कीर्तिपुरस्थित आयुर्वेदिक तालिम केन्द्र, भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्र, आर्मी ब्यारेक, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हल, इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको आवास, स्टाफ कलेज जाउलाखेल लगायतका स्थानमा चीनबाट आएका बिरामीहरु राख्नलाई ठाउँ खोजीरहेको छ । हुबइमा रहेका १ सय ८० जना विद्यार्थीले नेपाल आउन आवेदन दिइसकेका छन् ।





