काठमाडाैं ।। यौन दुव्र्यवहारको आरोप लागेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणाले जिल्ला प्रहरी कार्यालय सुनसरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ । धरानका एक महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा गृह मन्त्रालयले राणालाई बिहीबार निलम्बन गरेको थियो । निलम्बनको भोलिपल्ट शुक्रबार ती महिलाले राणाले आफूमाथि बलात्कार गरेको आरोपमा सुनसरी प्रहरीमा जाहेरी दिनुभएको थियो । राणामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले राणामाथि थप अनुसन्धान गर्नुपर्ने राय दिएको थियो । राणालाई सुनसरी प्रहरीको नियन्त्रणमा राखिएको छ । २०४९ मा प्रहरी सेवा प्रवेश गरेका राणा यसअघि डीएसपी हुँदा झापा त्यसपछि एसपीको रुपमा पूर्वक्षेत्रीय ट्राफिक कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय सुनसरीमा बस्नुभएको थियो । हाल उहाँ संघीय प्रहरी इकाइ धरानको प्रमुख रहेकै बेला निलम्बनमा पर्नुभएको थियो ।





