रौतहट ।। रौतहटकाे पराेहा नगरपालिकामा रहेका मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका -९ मा स्थित रहेको शिव मनी ट्रान्सफरक सञ्चालक २६ वर्षका नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो ।
पक्राउ पर्नेमा भारतीय नागरिक १९ वर्षका मुनिफकुमार यादव, १८ वर्षका राजकुमार पासवान र २० वर्षका चन्द्रभान सिंह रहेका छन् ।
घटनालगत्तै खटिएको प्रहरीले खोजतलास गर्दा तीन जना भारतीय नागरिक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायब उपरीक्षक (डीएसपी) एलिजा गिरीले जानकारी दिइन् ।
उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल, पेस्तोल गोली लगायतका सामान बरामद गरेको छ ।