जनकपुर ।। डा. सीके राउत नेतृत्वको जनमत पार्टीका एक मन्त्रीसहित चार प्रदेश सांसद आन्तरिकपरीक्षामामा असफल भएका छन् ।
शनिबार जनमत पार्टीले गरेको निर्वाचनमा चारजना प्रदेश सांसद अनुत्तीर्ण भएका हुन्। जनमतले आयोजना गरेको निर्वाचनमा जनमतकै कार्यकर्ताहरूले मतदान गरेका थिए । कुल १६ जना रहेको सांसदमध्ये १२ जनाको कार्यसम्पादन ठीक रहेको पाइएको छ । फेल हुने चारैजना समानुपातिक सांसद हुन् ।
चन्दनकुमार सिंह, त्रिभुवन साह, भाग्यश्री कुमारी चौधरी र अनिता कुमारी साह आन्तरिक मूल्यांकनमा अनुतीर्ण भएका छन्।
सिंह मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री मन्त्री हुन् । उनको पक्षमा १४ र विपक्षमा २८ मत परेको थियो ।
यस्तै, सिरहाका त्रिभुवन साहको पक्षमा २० र विपक्षमा ७८ मत परेको थियो। चौधरीको पक्षमा २१ र विपक्षमा ७९ मत परेको जनमतका प्रवक्ता डा। शरदसिंह यादवले जानकारी दिए।
यस्तै, अनिता कुमारी साह पनि फेल भएकी छिन्। उनको पक्षमा १४ र विपक्षमा २३ मत परेको थियो । सम्बन्धित क्षेत्रका पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सो पदका प्रत्यासी, जिल्ला परिषद सदस्य र सोही भूगोलका केन्द्रीय सदस्यसमेत मतदानमा सहभागी थिए ।





