धनगढी ।। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन्। धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधाननमन्त्री रहेका नेता नेपालले सो कुरा बताएका हुन्।
‘सबै पार्टीलाई समेटेर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो। मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हुन्छ ।’संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेपालले राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा छिटो टुङ्गाउनु राम्रो हुने बताए ।
प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सबैलाई समेटेर जानुपर्नेमा सुझाव दिँदै उनले मध्यावधि निर्वाचनतर्फ जान नहुने र यसलाई मुलुकले आर्थिक हिसाबले पनि धान्न नसक्ने उल्लेख गरे। सुदूरपश्चिममा नेकपा (एमाले) नेतृत्वको बनेको सरकार विश्वासको मत पाउन नसकेपछि एक महिनामै ढलेको र फेरि अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ।
कांग्रेस नेतृत्वको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
अर्को प्रसंगमा नेता नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन् । ‘शान्ति प्रक्रियासँग जोडिएका, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दामामिला छन्,’ नेपालले भने, ‘उहाँ (रेशम चौधरी)लाई रिहा गर्न आवश्यक छ ।’





