काठमाडौं ।। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू राष्ट्रपति बन्नका लागि योग्य उमेरमा पुगेको बताएका छन् । उनी आउँदो फागुन २६ गतेदेखि ७० वर्ष पूरा हुँदै छन् ।
अध्यक्ष नेपालले यसअघि दुईपटक आफूले राष्ट्रपति पद अस्वीकार गरेको पनि बताए । बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित सांसदहरूको शपथग्रहणअघि बसेको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग नेपालले यस्तो बताएका हुन् ।
“मलाई ०६४ सालमा पनि राष्ट्रपति बन्ने प्रस्ताव आएको थियो । ०७२ सालमा संविधान जारी भएपछि पनि राष्ट्रपति बन्ने प्रस्ताव आएको थियो,” उनले भने, “त्यस बेला मैले उमेरका कारण म सक्रिय राजनीति गर्ने अवस्थामा छु भनेर अस्वीकार गरेको थिएँ ।”
उनले अहिले दलका नेताहरूसँग राष्ट्रपति को बन्ने भन्ने विषयमा छलफल नभए पनि आफू उमेरका हिसाबले उपयुक्त समयमा रहेकोे आशय प्रकट गरे ।
“हुन त दलका शीर्ष नेताहरूसँग यस विषयमा छलफल भएको छैन, तर उमेरकै कारण राष्ट्रपति बन्दिनँ भन्ने अवस्था छैन,” नेपालले भने ।





