काठमाडाैं ।। नेपालमा आज थप आठ सय ९५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । यसअघी हिजो ६ सय २० जनामा सङ्क्रमण देखिएको थियो भने एकजनाको मृत्यु भएको थियो । त्यसअघी शनिवार चार सय ३८ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ८५ पीसीआर परीक्षणबाट ६ सय ३२ र २ हजार २ सय २४ एन्टिजेन परीक्षणबाट दुई सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म जम्मा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ । यसैबिच नेपालमा पछिल्लो २४ घण्टामा ३३ हजार एक सय ७६ मात्रा कोरोना खोप लगाइएको छ । अहिलेसम्म नेपालमा चार करोड ९४ लाख २५ हजार १ सय १३ मात्रा खोप लगाइएको छ । त्यसमध्ये दुई करोड १५ लाख ५६ हजार ९१ जनाले एक मात्रा, २ करोड ५ लाख ९२ हजार १ सय जनाले पूर्ण मात्रा र ७२ लाख ७६ हजार ९ सय २२ जनाले अतिरिक्त मात्रा (बुस्टर डोज) लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





