काठमाडौं ।। वर्षात सुरु भएसँगै देशका विभिन्न ठाउँमा हैजाका विरामी भेटिन थालेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकाका मात्रै १२ जनामा हैजाको सङ्क्रमण पुष्टि भइसकेको छ । काठमाडौंमा समुदायस्तरमा हैजा फैलिएको महाशाखाले जनाएको छ । काठमाडौंका बिभिन्न १० स्थानका पानीमा गरिएको परीक्षणमा हैजा गराउने किटाणु भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरेको छ । संसदीय समितिले पनि काठमाडौंमा फैलिएको हैजा नियन्त्रणमा गम्भिर बन्न सरकारलाइ ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हैजा नियन्त्रणको लागि सरकारले काम गरिरहेको दाबी गर्नुभयो ।





