काठमाडाैं ।। आज घोडेजात्रा पर्व मनाइँदैछ । जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ । दिउँसो १ बजेपछि हुने परम्परागत घोडेजात्रा समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत उच्च पदस्थ व्यक्ति जाने तय भएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा छ । समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ । त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड हुने नेपाली सेनाले जनाएको छ । नारायणहिटी दरबार परिसरमा रहेको ‘वेग भक्ति सेवा’ आदर्श वाक्य रहेको सेनाको नेपाल क्याभलरीका घोडा प्रतियोगितामा समावेश गरिनेछ । साइकल रेश, शो–जम्प, ड्रिल राइड, क्रसकन्ट्री जम्पजस्ता खेलकुद प्रस्तुत हुनेछ । कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन गरिनेछ । टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको जनविश्वास छ । गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोचअनुरूप घोडेजात्रा आयोजना गरिँदै आएको भनिन्छ । जात्राको अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here