एजेन्सी ।। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले इजरायलको संसदलाई भिडियोमार्फत सम्बोधन गर्नुभएको छ । विश्वव्यापी समर्थन जुटाउने प्रयासको रूपमा जेलेन्सकीले इजरायली संसदलाई सम्बोधन गर्दै आफु र आफ्नो देशका नागरिक बाँच्न चाहेको तर छिमेकीहरूले मरेको हेर्न चाहेको बताउनुभयो । उहाँले मारियुपोलमा रसियाले युद्ध अपराध गरेको समेत बताउनुभयो । यसअघि, ४ सय बढि मानिसहरूले आश्रय लिइरहेको युक्रेनको कला विद्यालयमा रुसले आक्रमण गरेको थियो ।
यसैबीच युक्रेनले ७ हजार भन्दा बढीलाई मानवीय कोरिडोर मार्फत बाहिर निकालेको छ । युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले आइतबार युक्रेनी सहरबाट कुल ७ हजार २ सय ९५ जनालाई मानवीय करिडोरमार्फत सारिएको बताउनुभयो । कुल ३ हजार ९ सय ८५ जनालाई घेराबन्दीमा परेको सहर मारिउपोलबाट जापोरिझ्झियामा सारिएको छ, भने सरकारले सोमबार मारिउपोलबाट विस्थापितहरूलाई लिन करिव ५० बसहरू पठाउने योजना बनाएको छ ।





