काठमाडाैं ।। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव समावेश छैन । कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । तर, सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ । संसद् बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन हुन सक्ने बताइएको छ । हिजो सम्पन्न काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई एमसीसी टेबल गर्न आग्रह गरेका गर्नुभएको थियो । यो विषयमा सभामुख सकारात्मक रहेको काँग्रेसले जनाएको छ । सत्तारुढ दल नेकपा माओवादी, एकीकृत समाजवादी पार्टी भने एमसीसीको पक्षमा खुलेका छैनन् । प्रतिपक्षी दल एमालेले भने सत्तारुढ दलले आफ्नो धारणा सार्वजनिक गरेपछि उपयुक्त निर्णय गर्ने बताएको छ ।





