— उपेन्द्र झा ।। देश र जनताप्रति वफादार रहने शपथ लिएर जब जनप्रतिनिधिहरु निजी स्वार्थ परिपूर्तिमा केन्द्रित हुन्छन् अनि पार्टीपंक्तिमा मात्र होइन, आम जनतामा पनि राजनीतिक अराजकता बढ्न थाल्दछ । जतिसुकै शक्तिशाली सरकार पनि शासन चलाउन असक्षम साबित हुन्छन् । अहिले त्यही अवस्था विद्यमान छ ।
देश र जनताप्रतिको जवाफदेहिता, देश विकासको जिम्मेवारी, नियम कानून, जनप्रतिनिधिको अधिकार र कर्तव्य आदि सबै कुरा तब भष्मीभूत हुन्छन् जब मानिस राजनीतिमा धनार्जन गरेर चीरकालसम्म आफूलाई राजनीतिमा बनाइ राख्न निकृष्ट प्रपञ्च रच्छ । त्यो बेला मानिसमा मानवीय गुण केही शेष रहँदैन र उ आफूलाई जतिसुकै ठूलो राजनीतिक खेलाडी सम्झेपनि जनताको विश्वास गुमाएको निरीह प्राणी मात्र हुन्छन् ।
देशले पाएको शक्तिशाली सरकार देश र जनताको आर्थिक उन्नतिमा प्रयोग नभई शक्ति संघर्षमा लागेर आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । नेकपाभित्र जन्मिएको शक्ति संघर्ष उत्कर्षमा पुग्दा दुई चिरा नेकपा माओवादी केन्द्र र नेकपा उमालेमा विभक्त भएको छ । प्रतिशोधको चरम अवस्था दुवै पार्टीभित्र परिलक्षित भइरहेको छ । नेकपा माओवादी केन्द्र र एमाले पार्टीमा विभक्त भएपछि एमालेका नेताहरु तथा माओवादीका नेताहरु दुवैतिर परेर कारबाहीमा परेका छन् । प्रतिशोधको यो ताण्डव चर्को रुपमा अगाडि बढेपनि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । विरोध र समर्थन समान रुपले अगाडि बढाएको माओवादी के गर्ने भन्ने बारेमा प्रष्ट छैन । ओली सरकारको कडा प्रतिवादमा उत्रेको माओवादी केन्द्र समर्थन फिर्ता नलिनुका पछाडि विभिन्न कारण हुन सक्दछ ।
(क) विगतमा आफ्नो स्वतन्त्र अस्तित्व बचाउन कही न देखिँदा एमालेसँग मिसिएर अस्तित्व बचाएको यथार्थलाई छोड्न नसक्ने बाध्यता ।
(ख) माओवादीलाई एक्ल्याएर राज्यसत्ताद्वारा माओवादीमाथि प्रहार हुने डर ।
यी प्रमुख कारणले माओवादीले स्पष्ट धारणा बनाउन सकेको देखिन्न ।
सदियौंदेखि आन्तरिक औपनिवेशिक उत्पीडनमा परेको मधेशले विद्रोहमार्फत् सशक्त नेतृत्वपंक्तिलाई जन्म दियो । दरिद्र मानसिकताका नेतृत्वपंक्तिका अगुवाहरु मधेशको मुद्दालाई निजी स्वार्थका लागि प्रयोग गर्दै जाँदा मधेशको मुद्दा गतिहीन त भयो नै जनविश्वास गुमाएर आफ्नो छवि पनि बिगा¥यो ।
निजी स्वार्थमा केन्द्रित भएर राष्ट्रिय राजनीतिक दलहरुको सेवा गर्दै जसरी बदनाम भयो, प्रदेशमा पनि यसको प्रभाव गहिरो रुपमा देखिएको छ । मधेशका लागि राजनीति गर्ने पार्टीहरुका अगुवाहरुमा मुद्दाप्रतिको अडान स्पष्ट दृष्टिकोण, इमानदारिता, नैतिकता र कुशल नेतृत्वको भन्दा अवसरका लागि जेपनि गरिहाल्ने प्रवृत्ति, चाटुकारिता आदि दुष्प्रवृत्तिको विकास बढी भएकोले मधेशमा असन्तुष्टता, अविश्वासको माहौल व्याप्त छ ।
ओलीकै कारण राजपा र समाजवादी पार्टीको रातारात एकीकरणको लगनगाँठो कस्सिएको थियो । मुद्दाभन्दा व्यक्तिगत स्वार्थको टकरावका कारण वर्षौंदेखि मिल्न नसकेको दुवै पार्टी फुट्ने डरले एकीकृत भएर जनता समाजवादी पार्टीको रुपमा तेस्रो वैकल्पिक शक्ति बनेको थियो । माथिदेखि तलसम्म समितिहरुको समायोजन प्रक्रिया पूरा नहुँदै अहिले पुनश्चः ओलीकै कारण जसपा विभाजनको अन्तिम चरणमा पुगेको छ ।
नेकपा विभाजनपछि जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई आफ्नो समर्थनमा ल्याउन पूर्वराजपाले सारेको पाँच मागमध्येमा रेशम चौधरीको रिहाइ तथा मुद्दा लागेका राजबन्दीहरुको मुद्दा फिर्ता लिई रिहाई गर्नुपर्ने मागलाई ओली सरकारले स्वीकार गरी तत्काल कारबाही अगाडि बढाएबाट महन्थ ठाकुर र राजेन्द्र महतो ओलीको समर्थनमा उभिएका छन् भने ओली सरकार प्रतिगामी भएकोले वैकल्पिक सरकार बनाउन ओलीको विरुद्धमा उपेन्द्र यादव र डा.बाबुराम भट्टराई उत्रेका छन् । जतिसुकै माग पूरा हुँदा अवसरको भरपूर लाभ लिनु कुनै मुर्खता होइन ।
ओली नेकपा एमालेको अध्यक्षको हैसियतले पार्टीलाई शक्तिशाली तथा बाँकी कार्यकालसम्म आफ्नो सरकारलाई टिकाउन सत्ताको भरपूर उपयोग गरेका छन् । नेकपा विभाजनपछि प्रचण्ड–नेपाल समूह बहुमतमा देखिए पनि विस्तारै अल्पमतमा पर्दै गएबाट वैकल्पिक सरकार गठनको प्रयास तुहिएको छ । नेपाली कांग्रेस आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउन आन्तरिक दबाब झेलिरहे पनि चुनावमा जाने शेरबहादुर देउवाको ठम्याई छ । शेरबहादुर देउवा, ओलीनजिक रहेर भरपूर फाइदा उठाउने रणनीति बनाएको छ ।
यसरी प्रचण्ड–नेपाल समूह, जसपा र नेपाली कांग्रेसको समीकरण बन्न सजिलो होइन, कठिन छ । ओली आफ्नो वर्चस्व बनाई राख्न सफल देखिएको छ । जसपाको एउटा ठूलो खेमा ओलीको समर्थनमा आएपछि ओलीलाई चुनौती दिन विपक्षीलाई सजिलो छैन । कोही मुद्दाको डरले, कोही अवसर पाउने इच्छाले, कोही अपराधिक कारबाहीबाट बच्न ओलीको समर्थनमा आउँदा ओली विस्तारै मजबुत भएका छन् ।
गैरमधेशी पार्टीमा हानी–लाभको आधारमा विभाजन र एकीकरण हुनछ । उग्र विचारको माओवादी भाषणमा ठाढो विरोध गरेपनि समर्थन फिर्ता नलिएर सरकारसँग सहानुभूति सम्बन्ध बनाइराखेको छ । तर मधेशी पार्टीमा पानी बाराबारको स्थिति विद्यमान रहेका कारण यतिका दिनमा कसैको कसैसँग मन मिलेको छैन । गैरमधेशी पार्टी फुटेर पनि मिल्ने सम्भावना बढी छ । मधेशी पार्टी फुट्यो भने पुनः तत्कालै मिल्ने सम्भावना कम छ ।
देश र जनताप्रतिको जवाफदेहिताबाट पन्छिएर राजनीतिलाई व्यक्तिगत स्वार्थमा उपयोग गरेर हिंडेपछि यस्तै शक्ति संघर्षले देशमा अराजकता फैलाउँछ र देश र जनताको कार्य ठप्प हुन्छ । यस्तै तरलीकृत राजनीतिमा शक्तिकेन्द्रले खेल्ने ठाउँ पाउँछ । सत्ता समीकरणको दाउपेंचमा संलग्न पक्ष विपक्ष एक दिन राजनीतिक वृतबाट अलग फ्याँकिने घटनाहरु पनि प्रशस्त छन् । कोही देश र जनताको बारेमा सोच । देशलाई संकटबाट बाहिर निकाल्ने साहस देखाउ ।
शक्तिसंघर्षले अराजकता फैलाउँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।