राैतहट ।। रौतहटका जिल्लामा रहेका क्रियाशिल तथा सक्रिय सञ्चारकर्मीहरुले अनाथालयमा सहयोग गरेका छन् । सञ्चारकर्मीहरुले पाएको सहयोग आफूले नलिई अनाथालयलाई हस्तान्तरण गरेका हुन् ।
ईशनाथ नगरपालिकाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर समितिले रौतहट जिल्लाका क्रियाशील तथा सक्रिय पत्रकारहरुलाई खाद्यान्न तथा व्यक्तिगत सरसफाइ सामग्री हस्तान्तरण गरेको थियो ।
नगर अध्यक्ष मोहन मेहताले नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठलाई हस्तान्तरण गरेको सामग्रीमध्ये गौरस्थित नेपाल भारत मैत्री अनाथालयलाई चार बोरा खाद्यान्न तथा अन्य सामग्री हस्तान्तरण गरिएको थियो ।
आइतबार गरुडास्थित वंशीराम जयसवाल अनाथालयलाई १५ बोरा चामलका साथै अन्य सामग्री हस्तान्तरण गरिएको छ । बोरामा २५ किलो बासमती चामल भएको सचिव श्रेष्ठले बताएका छन् ।चामलको बोरासँगै दाल, नून, खानेतेल, साबुन, सेनेटाइजर, हैन्डवास, टूथ पेस्ट, ब्रस लगायतका सामग्री पनि रहेका छन् ।
जिल्लाका १५ सञ्चारकर्मीको सहयोग अनाथालयलाई हस्तान्तरण गर्दै सचिव श्रेष्ठले अनाथालयमा रहेका बालबालिकालाई कठिन आफूहरुले पाएको सहयोग हस्तान्तरण गर्न पाउँदा आफूहरुलाई सन्तोष लागेको बताएका छन् ।
दिनरात जोखिममा रहेर काम गर्नुपर्ने सञ्चारकर्मीहरुले आफ्नो भागको खाद्यान्न तथा सरसफाइ सामग्री अनाथालयलाई हस्तान्तरण गरेकोमा संस्थापक वंशीराम जयसवालले अनाथ बालबालिकाहरुको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।