गौर ।। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–२ का अध्यक्ष एवम् रौतहट क्षेत्र नं. ३ का साँसद प्रभु साहले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम एवं नियन्त्रणका लागि सरकारलाई १२ बुँदे सुझाव दिएका छन् ।
आफनो गृह जिल्ला एवम् रौतहट क्षेत्र नं. ३ को कटहरीया, देवाहीगोनाही, बौधिमाई, बंकुल, मौलापुरसहितबिभिन्न ठाउँमा रहेका क्वारेन्टाइनहरुको अनुगमन, निरीक्षण, सल्लाह गर्दै संघीय सरकारसहित सम्बन्धित निकायले तत्कालै गर्नुपर्ने कामबारे उनले सुझाव दिएका छन् ।
कोरोना रोकथामबारे सुरक्षा निकायका पदाधिकारीलगायतसँग छलफल गर्दै पूर्वमन्त्री समेत रहेका प्रदेश अध्यक्ष साहले बिभिन्न क्वारेन्टाइनहरूको अनुगमन, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीहरुसँगको छलफल तथा नेपाल–भारत सीमाको निरीक्षण एवं अन्तरक्रियापश्चात आएका विभिन्न सुझावका साथै व्यक्तिगत अनुभूति एवं अनुभवहरूको आधारमा नेपाल सरकारलगायत सम्बन्धित पक्षहरूलाई तत्कालै यी १२ काम गर्नुपर्ने सुझाव दिएका छन ।
सांसद साहले सरकारलाई १२ सुझाव यस्ता छन्
१. रोजगारी तथा अध्ययनका लागि विदेशमा रहेका र अहिले स्वदेश र फर्कन इच्छुक नेपाली नागरिकका लागि आवश्यक संख्यामा सुरक्षित एवं व्यवस्थित सुविधासम्पन्न क्वारेन्टाइनहरु तत्काल युद्धस्तरमा निर्माण गरी उनीहरुको उद्धारको पूर्ण तयारी गर्ने ।
२. समयमैं संक्रमित पहिचानका लागि परीक्षणको दायरा बढाउन प्रत्येक जिल्ला–जिल्लामा पिसिआर प्रविधिसहितको कोरोना परीक्षणशाला निर्माण गर्नुपर्ने ।
३. अन्य सामान्य बिरामी उपचारका लागि बनाइएको पुराना संरचनाका अस्पतालहरुमा सहज एवं सुरक्षित ढंगबाट कोभिड–१९ को उपचार सम्भव नदेखिएकाले तत्काल आवश्यक संरचनासहितको सुविधासम्पन्न कोराना विशेष अस्पतालहरु निर्माण गर्नुपर्ने ।
४. स्थानीय तहहरुले हतारमा बनाएको क्वारेन्टाइनहरुमा सरसफाई, खानपान, स्वास्थ्य सुरक्षा, आवश्यक भौतिक संरचना अभावलगायतका विभिन्न समस्याहरु देखापरेकाले समस्याहरुको निराकरण गर्न तत्काल यसलाई थप व्यवस्थित, सुविधा सम्पन्न एवं सुरक्षितबनाउने गरी स्तरोन्तीको कार्यमा जोड दिनुपर्ने ।
५. क्वारेन्टाइन, अस्पताल, हाट–बजारलगायतका सार्वजनिक स्थलहरुलाई निरन्तर सरसफाई तथा सेनिटेशन (सेनिटाइज) गरी राख्नुपर्ने ।
६. जनजीविका र हाम्रो अर्थ व्यवस्थाको प्रमुख आधार कृषिलगायतका उत्पादन पेशामा संगलग्न किसानका मूलभूत समस्याहरूलाई मध्यनजर गर्दै विउ–विजन, मल–खाद्य तथा दानाको उचित प्रबन्धसहित सहज एवं सुलभ उपलब्धताको ग्यारेन्टी गर्नुपर्ने ।
७. अहिलेको धमिलो पानीमा माछा मार्न खोज्ने केहि संवेदनहीन दलाल व्यापारी, भ्रष्ट कर्मचारी तथा नैतिकताविहीन जनप्रतिनिधिहरु कृत्रिम अभाव, मूल्यवृद्धि, मिसावट, म्याद गुज्रेको तथा गुणस्तरहीन बस्तुमा कालोबजारी तथा पिसी–कमिसनको खेलमा सक्रिय रहेको देखिएकाले समयमैं यस समस्याको निगरानी, नियन्त्रण तथा निवारणका लागि अधिकारसम्पन्न संयन्त्रलाई सशक्त रुपमा परिचालित गर्नुपर्ने ।
८. फिल्डमा खटिरहेका केहि स्वास्थ्यकर्मीहरु समेत कोराना भाइरसको बारेमा पुरै अनभिज्ञ रहेकाले उनीहरुलाई भिडियो कलकन्फ्रेन्समार्फत भए पनि तत्काल आधरभूत तालिम दिनुपर्ने ।
९. बाहिरबाट आउनेहरुलाई थर्मो गनले तापक्रम मापन गरेर घर पठाउने काम पनि धेरै ठाउँमा भईरहेको देखिएकाले यसलाई तत्काल रोक्नुपर्ने र बाहिरबाट आउने जोकोहीलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने र चेकजाँचको रिपोर्ट पछि मात्रै घर पठाउने ।
१०. नेपाल–भारत सीमामा सुरक्षाकर्मीहरुको सशक्त उपस्थिति र कडाई रहेता पनि लुकीछिपी आउने–जाने क्रम नरोकिएकाले यसमा विशेष ध्यान दिनुपर्ने ।
११. लकडाउनको मौका छोपी वन–जंगल फडानी एवं काठ तस्करी तथा नदीबाट बालुवा–गिट्टीको अनियन्त्रित चोरी निकासी भईरहेकाले तत्काल रोक्नुपर्ने ।
१२. बर्खासँगै हुने प्राकृतिक जोखिमहरुलाई ध्यानमा राखी आवश्यक बाँध–तटबन्ध तथा नदी नियन्त्रणका कार्यहरु, रणनैतिक महत्वका सडकहरु सुचारू राखी–राख्न पुल–कल्भर्ट लगायतका आवश्यक पूर्वाधार निर्माण कार्य अगाडि बढाउनु पर्ने । साँसद प्रभु साहकाे सरकारलाइ सुझाव रहेकाे उनका साेकिय सचिव विजय यादव निर्वीजले जानकारी गराएकाे छ ।