काठमाडाैं ।। कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम टार्न सरकारले राजधानीमा १ सय २० वटा सघन उपचार कक्ष (आइसीसीयू) र एक हजार बेडसम्मको आइसोलेसन कक्ष तत्काल निर्माण गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको हिजोको बैठकले प्रदेशस्तरीय अस्पतालमा समेत एक सयम सघन उपचार कक्षको व्यवस्था गर्ने निर्णय गर्दै त्यसको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । उच्चस्तरीय संयन्त्रयको संयोजक, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०–२० वटा सघन उपचार कक्ष थप्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको कार्यालयका सचिव एवं उच्चस्तरीय संयन्त्रयका सदस्य सचिव नारायणप्रसाद विडारीले भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा २ सय २० बेड, तेलकोटस्थित खानेपानीको तालिम केन्द्रमा ६० बेडको आइसुलेसन वार्ड बनाउने निर्णय भएको जानकारी दिनुभयो । आयुर्वेद अस्पताल कीर्तिपुरमा दुई सय, टेकु अस्पतालमा एक सय, पाटन अस्पतालमा ७०, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अस्पतालमा एक सय र इचङ्गुनारायणस्थित सैनिक ब्यारेकमा २५० वेडका आइसुलेसन वार्ड बनाउने निर्णय बैठकले गरेको छ । विभिन्न उद्योग व्यवसायीसँग समन्वय गरेर स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्वीपमेन्ट (पीपीइ) किट आठ सय साथ र डाइग्नोसिस किट तीन हजार थान शीघ्र आपूर्ति व्यवस्था मिलाउने समेत बैठकले निर्णय गरेको विडारीले बताउनुभयो । बैठकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम ‘हेल्थ स्क्रिनिङ’ सुरु गर्ने निर्णय गरेको छ । अन्तर्रा्ष्ट्रिय उडान र घरेलु उडानका लागि समेत हेल्थ स्क्रिनिङ अनिवार्य गरिएको जनाइएको छ । बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्तण सम्बन्धी कार्यमा खटिने चिकित्कस तथा कर्मचारीका लागि कार्य क्षेत्रगत शर्तका आधारमा जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले कोभिड–१९ लाई समेत कडा रोगको सूचिमा राखेको छ ।
एक हजार बेडको आइसोलेसन कक्ष बन्ने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।