डडेल्धुरा ।। नवदुर्गा गाउँपालिका डडेल्धुराले १० वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा छनौट गरि शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले प्रविधीमैत्री र गुणस्तरीय शिक्षामा जोड दिंदै सबै विद्यालयमा ल्यापटप, विद्युतिय हाजिरी, प्रोजेक्टरका माध्यमबाट पठनपाठन गर्ने नीति बनाएको छ । शिक्षा नीतिमै पालिकाभित्रका सबै विद्यालयलाई नमुना बनाउने लक्ष्य राखिएको छ । प्रत्येक वर्ष ५ वटा विद्यालयमा नमुनाका रुपमा शैक्षिक सुधारका विभिन्न कार्यक्रम सञ्चालन गरिन्छ । छनोट गरिएका नमुना विद्यालयमा इन्टरनेटको व्यवस्थापन गर्ने काम भईरहेको छ । गाउँपालिका भित्रका माध्यमिक तथा आधारभुत गरि २८ वटै विद्यालयलाई प्रविधीमैत्री बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष कवेन्द्र बिष्टले बताउनुभयो । गाउँपालिकाले निमयीत रुपमा नमुना विद्यालयको अनुगमन समेत गरिरहेको छ । नियमित अनुगमनले पठन पाठन सुधारिएको छ । साथै विद्यार्थीको सिकाई उपलब्धी समेत बढेको भुवनेश्वरी माध्यमिक विद्यालयका छात्रा कमला साउँदले बताउनुभयो । नियमित अनुगमनले शैक्षिक वातावरण प्रभावकारी बनेको स्थानीय शिक्षकहरू पनि स्वीकार गर्छन् । भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञराज उप्रेतीका अनुसार विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि स्थानीय सरकारले समय समयमा अनुगमन गर्नु जरुरी छ । गाउँपालिकाले साना कक्षाहरूमा बालबालिकालाई पढाइमा चासो बढाउने उद्देश्यले भिडियो कक्षाका लागि आवश्यक उपकरण विद्यालयहरूलाई दिएको छ । प्रविधीमैत्री शिक्षाले आफ्ना बालबालिका भविश्य सुधारिनेमा अविभावक पनि आशावादी छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here