एजेन्सी ।। भारतको बिहारमा महिला आयोगसमक्ष अनौठो उजुरी आएको छ । राज्यको वैशाली जिल्लामा एक महिलाले आफ्ना पति दिनदिनै ननुहाउने र दाँत नमाझ्ने गरेको भन्दै उनीसँग बस्न नसक्ने बताइन् ।
नयाँगाँवमा बस्ने सोनी देवी पति ननुहाउने, दाँत नमाझेने अनि दाह्री नकाट्ने फोहरी किसिमको मानिस भएकाले हैरान भएर महिला आयोग पुगेकी थिइन् । अनि पतिको बानीबेहोरा पनि ठीक नभएको उनको आरोप थियो ।
सोनीले उजुरी गरेपछि महिला आयोगले पति मनीष रामलाई आफ्नो बानी सुधार्न दुई महिनाको समय दिएको छ । उसले बानी नसुधारेमा महिला आयोगले उसलाई उचित कारवाही गर्नेछ ।
सोनी र मनीषको विवाह सन् २०१७ मा भएको थियो । मनीष प्लम्बर हो । सोनीले महिला आयोगसमक्ष भनिन्, ‘पतिको शरीरबाट दुर्गन्ध आउँछ किनकि ऊ दाँत माझ्दैन र साबुन लगाएर नुहाउँदैन । अनि पतिका रूपमा उसको व्यवहार पनि राम्रो छैन ।’
सोनी पारपाचुकेको अडानमा छिन् । आयोगसमक्ष उनले पतिबाट मुक्ति दिलाउन अनुरोध गरेकी छन् । अनि माइतले दाइजो दिएको सामान पनि फिर्ता लिन उनले चाहेकी छन् ।
आयोगले मनीषलाई सुध्रिनका लागि दुई महिनाको समय दिएपछि मनीषले पत्नीको विश्वास जित्नका लागि कोशिश गर्ने बताएका छन् ।