काठमाण्डौं ।। भ्रमण वर्षको घोषणा भएसँगै नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलबाट २० लाख पर्यटक भित्र्याउन अवसर र चुनौति दुवै छ । केही महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताईए पनि तत्कालका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हवाई मार्गबाट पर्यटक भित्र्याउने एक मात्रै माध्यम हो । जसका लागि विमानस्थलले तयारी सुरु गरेको छ । तत्काल अर्को अन्तर्राष्ट्रिय विमानस्थल तयार नहुँदासम्म हवाईमार्ग हुँदै आउने पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै भर छ । तर, विमानबाट ओर्लने बित्तिकै पर्यटक अलमलमा पर्छन् । तथ्याङ्कले विमानस्थलबाट दैनिक करिब ३ हजारको हाराहारीमा पर्यटक आउने गरेको देखाएको छ । २० लाख पर्यटक एक वर्षमा भित्र्याउने हो भने दैनिक औसत, ६ हजारको हाराहारीमा पर्यटक आउन जरुरी छ । पर्यटक सङ्ख्या थपिदा विमानस्थललाई व्यवस्थापनको चुनौति पनि थपिने छ । विमानस्थलका प्रवक्ता देव चन्द्रलाल कर्णका अनुसार एउटा मात्रै रनवे, एक पटकमा एउटा मात्रै विमान आउन सक्ने र अत्याधुनिक विमानस्थल नभएका कारण चुनौती छ । भ्रमण वर्षको लागि विमानस्थलमा मर्मत सम्भार पनि सुरु गरिएको छ । विमानबाट ओर्लिएका पर्यटकहरुलाई सहज होस् भन्ने हेतुले सबै विभागमा विशेष टोली खटाईएको अध्यागमन विभागका वरिष्ठ अध्यागमन अधिकृत रुद्रनाथ देवकोटाले बताउनुभयो । पर्यटक सङ्ख्या बढ्दा व्यवस्थापनको मात्रै होईन सुरक्षा चुनौति पनि बढ्छ । त्यसै अनुसारको सुरक्षा व्यवस्था मिलाईएको, विमानस्थलका सुरक्षा निमिक्त प्रमुख एसएसपी राम कृपाल शाहको भनाइ छ । भ्रमण वर्ष सफल बनाउन विमानस्थलमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र आमयात्रु सबै उत्तिकै जिम्मेवार हुनुपर्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here