काठमाडाैं ।। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति अब चाँडै तोक्ने सरकारले तयारी गरेको छ । मेलम्ची आयोजना सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेको खानेपानी मन्त्रालयले जनाएको हो । हिजो आयोजना स्थल निरिक्षण गर्न पुग्नुभएका खानेपानी मन्त्री बिना मगरले आयोजनाको समय थपिँदै जानुले राम्रो सन्देश नगएको भन्दै मेलम्चीलाई छिटो सक्नेगरी काम भइरहेको बताउनुभयो । स्थानीयको रोयल्टीदेखि स्थानीय कामदारको पारिश्रमिकबारे मन्त्रालयले एक प्राविधिक समिति गठन गरेर अनुसन्धान गरिरहेकाले चाडै यो समस्या समाधान हुने दाबी गर्नुभयो । यस्तै, मेलम्ची खानेपानी आयोजना स्थलको निरिक्षण गर्न पुगेको संसदको विकास तथा प्रविधि समितिले आयोजना अनुगमनपछि केही समस्या देखिएको जनाएको छ । यस्ता समस्या सहजीकरण गर्न समितिले पहल गर्ने सभापति कल्याणी खड्काले बताउनुभयो । आयोजना सम्पन्न कहिले हुन्छ भन्ने विषयमा भने अहिले सरकारले नबोल्ने नीति लिएको छ । तर आगामी असार मसान्तसम्ममा काठमाडौंको सुन्दरीजलमा पानी झार्ने योजना रहेको आयोजनाका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीले बताउनुभयो । मेलम्ची आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरिएको उहाँले बताउनुभयो । बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकदारलाई दिइएको छ । यसअघि इटालियन कम्पनी सीएमसीले आयोजनामा ८ वटा लोकल भेन्डरका रुपमा राखेका कम्पनीलाई सोझै ठेक्का लगाइएको थियो । हाईड्रो–इलेक्ट्रो मेकानिकल र केही आपूर्तिसम्बद्ध ८ वटा ठेक्का त्यहाँ कार्यरत पुरानै कम्पनीले बिनाप्रतिस्पर्धा पाएका हुन् । सीएमसी आफैंले गरिरहेको जटिल प्राविधिक काम भने अब सिनोले नै अघि बढाउनेछ । हेडवक्र्सको काम १५ महिनामा र सुरुङको काम १२ महिनामा सक्नेगरी टेन्डर आह्वान गरिएको थियो । सरकारले गत जेठमा ल्याएको नीति तथा कार्यक्रममा एक वर्षभित्र मेलम्ची ल्याउने जनाएको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मेलम्चीका लागि लागि सात अर्ब ३९ करोड बजेट छुट्याएको छ । यो रकम काठमाडौंमा पाइप बिछ्याउन पनि उपयोग हुने बताइएको छ ।
मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति अब चाँडै तोक्ने सरकारले तयारी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।