काठमाण्डौं ।। योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकरण हुनका लागि सरकारले फेरि एक महिना समय थपेको छ । रोजगारदाताको आग्रहमा कात्तिक १३ गतेदेखि मंसिर १३ गतेसम्म कोषमा सूचीकरण हुनका लागि समय थपिएको सरकारले जनाएको छ । २०७५ मंसिर ११ गतेबाट सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना गत साउन १ गतेबाट मात्रै औपचारिक रुपमा कार्यान्वयनमा आएको थियो । अहिलेसम्म आठ हजार आठ सय १८ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । एक लाख नौ सय ६८ जनाले योगदान सुरु गर्दा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अहिलेसम्म सात करोड ६५ लाख रुपैयाँ जम्मा भएको छ । सूचीकरण भएका दुईजना श्रमिकका परिवारले कोषबाट सुविधा लिने प्रक्रिया पनि सुरु भएको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली सीआईएनसँग बताउनुभयो । रोजगारदाताले सामाजिक सुरक्षा कोषको लगानी कार्यविधि सामाजिक सुरक्षा कोष सञ्चालक समितिबाट पारित गरेको छ । कोषबाट योगदानकर्तालाई सामाजिक, शैक्षिक र घर कर्जा दिने व्यवस्था गरिएको कार्यविधि स्वीकृतिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुगेको मन्त्रालयका सहसचिव एवम् श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रामप्रशाद घिमिरेको भनाई छ । अझै ठूलो संख्यामा रोजगारदाता सूचीकरण हुन बाँकी रहेको भन्दै सूचीकरण हुनका लागि सामाजिक सुरक्षा कोषले एक महिनाको समयावधि फेरि थप गर्ने निर्णय गरेको छ । अब पनि सूचीकरणमा नआउने प्रतिष्ठानलाई कानुनी कारवाही गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको चेतावनी छ ।सामाजिक सुरक्षा योजनामा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
सामाजिक सुरक्षा योजनामा सूचिकरण गर्न समय थपियो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।