राैतहट ।। नेपालको इतिहास सधैं शासक वर्ग र उनीहरूको ऐश्वर्यपूर्ण जीवनको चर्चा गर्दै लेखिँदै आएको छ। तर, त्यही इतिहासले मधेसका लाखौं जनताको संघर्ष, शोषण र योगदानलाई ओझेलमा पारेको छ। पहाड–मधेस विभाजन, बेमेल कानून, जंगल विनाश, राजमार्ग निर्माणका नाममा गरिएका ज्यादती र शोषण, अनि स्थानीय नेतृत्वको असफलताले मधेस अझै उपेक्षाको शिकार बन्न पुगेको छ।
राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरेपछि सुरु भएको पूर्व–पश्चिम राजमार्गको निर्माणले खासगरी मधेसमा गहिरो प्रभाव पारेको थियो। पदम शमशेरको पालामा बनाइएको ‘पदम रोड’ लाई विस्थापित गरेर, जंगलको बीचबाट राजमार्ग बनाउने नाममा हजारौं बिगाहा हरियाली वन विनाश गरियो। ढल्केबरदेखि पथलैयासम्म र गैंडाकोटदेखि बुटवलसम्म जङ्गल छियाछिया पारियो।
राणाकालदेखि नै मधेसी समुदायमाथि दोहोरो कानून लागू गरिएको थियो। पहाडमा हुने सजाय मधेसमा तेब्बर बनाइन्थ्यो। मालपोत असुलीका नाममा बाँसको घोडामा चढाएर घाममा राखिने, खाल्टोमा उभ्याउने, जुक्काले टोकेर पिलाउने जस्ता अमानवीय यातना मधेसका जनताले भोगे। राणाहरूको मुख्य आम्दानीको स्रोत नै मधेसको मालपोत थियो।
मधेसमा कहिल्यै अकाल नपरेको इतिहास बोकेको बेला पनि जंगल विनाशपछि स्थितिमा भयावह परिवर्तन आएको छ। चुरे क्षेत्र, जो कहिल्यै वर्षमा एकचोटि मात्रै प्रयोग गरिन्थ्यो, आज अनियन्त्रित बसोबास र दोहनका कारण नाङ्गो बनेको छ। यही कारण मधेस वर्षेनी बाढी र अनावृष्टिको चपेटामा पर्न थालेको छ। नदीहरू अब वरदान होइन, अभिशाप बनेका छन्।
मधेसका ऐतिहासिक आन्दोलनहरू भित्रबाटै समाप्त भए। तराई कांग्रेसका बेदानन्द झाले विद्रोह राजदूतको पदमा साटे भने, रघुनाथ ठाकुरजस्ता विद्रोहीलाई विष हालेर मारियो। मधेसको राजनीतिक आन्दोलन नेतृत्व गर्नेहरू शासकसँग साँठगाँठ गरेर आफ्नै स्वार्थ पुरा गर्न तल्लीन रहे।
पश्चिम नेपालमा भएको खनियाबास तामाङ विद्रोह राज्य दमनबाट जोगिन सफल भयो, किनकि त्यहाँका अगुवा इमानदार थिए। तर मधेसका अगुवाहरू ‘सौदागर’ ठहरिए। उनीहरूले जनताको घाउमा मलम लगाउने होइन, राज्यसँग सौदाबाजी गरेर आफ्नो भाग लिने काम गरे।
मधेसको भूमि, श्रम र संस्कृति लामो समयदेखि शोषणको घेराभित्र छ। इतिहास लेखिँदा शासकको विजय र दरबारको भव्यता मात्रै होइन, माटो सिँच्नेहरूको पीडा, जंगल जोगाउनेहरूको संघर्ष, र न्यायको खोजी गर्नेहरूको आवाज पनि स्थान पाउनुपर्छ। नत्र इतिहास सधैं अधूरो, अन्यायपूर्ण र एकपक्षीय मात्र रहिरहन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here