सुनसरी । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरी छुट्ने संकेत दिनुभएको छ । टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको प्रचण्डले बताउनुभयो ।
सुनसरीमा आज आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘टीकापुर घटनाको सन्दर्भमा आयो, अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक निर्णयसहित खारेजीको प्रक्रिया अगाडि बढेको छ । मलाई विश्वास छ केही समयपछि झुटा मुद्दाहरु खारेज हुन्छन् र बन्दी अवस्थामा रहेका थारुहरु केही समयपछि मुक्त हुन्छन् ।’
रेशम चौधरीको नाम उल्लेख नगरी प्रचण्डले जनताको मतबाट जितेका माननीयहरुलाई स सम्मान ल्याउने वातावरण बन्छ भन्ने आफ्नो विश्वास रहेको बताउनुभयो । कैलाली १ बाट प्रतिनिधिसभा चुनाव जितेका चौधरीलाई टीकापुर घटनामा जन्दकैदको सजाय सुनाइएको छ । चौधरीले जेलमै रहेका बेला सपथ समेत लिएका थिए ।