दिनेश यादव संगम ।। रौतहट ।। शिक्षक सरुवाको विषयलाई लिएर जिल्लाको गरुडा नगरपालिकामा बिहीबार स्थानीय विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा नगरपालिकाका विभिन्न गाडीमा क्षति पुगेको छ। गरुडा नगरपालिकाले अनियमित तरिकाबाट प्रधानाध्यापक प्रभु पटेल र शिक्षक शिवशंकर झाको सरुवा गरेपछि उच्च माध्यमिक विद्यालय गरुडाको विद्यार्थीहरु आक्रोशित भई गरुडा नगर कार्यपालिकाको कार्यालयमा ढुंगामुढा गरेका हुन ।
नमुना माध्यमिक विद्यालयका नेपाली शिक्षकको अन्यत्र सरुवा भएपछि विद्यार्थीहरुले आक्रोशित हुँदै प्रदर्शन गरेका थिए। प्रदर्शनलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालयले प्रयास गरिरहेको छ। यस्तै, गरुडा नगरपालिकाको कार्यालय परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको छ।
प्रदर्शनको क्रममा पालिकामा ठूलो क्षति भएको अनुमान गरिएको छ। क्षतीको विवरण पालिकाका कर्मचारी र प्रहरीले संकलन गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।





