
काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु मूल मन्त्र भएको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज शुक्रबार आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुँच अभिवृद्धिका लागि आदिवासी जनजाति राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोडसमेत दिएका छन् । नेकपा एमालेका अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र खास गरी सबै महिला समुदायको अधिकार स्थापनाका लागि विशेष महत्त्व दिँदै आएको बताउँदै हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गरेरै छाडिने सङ्कल्पसमेत गरेका छन् । प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिलाई आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गरेका थिए ।