रौतहट ।। रौतहट सहित देशभर ‘दशहरा’ पर्व सुरु भएको छ । तराई मधेशमा शारदीय नवरात्र र दशहरा भनिने बडादसैँ पर्वको पहिलो दिन विहिवार रौतहटसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरियो । दसैँ पर्वलाई मधेशमा ‘दशहरा’ पनि भनिन्छ ।
मिथिला परम्परामा दुईवटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ ।
देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै धुमधामले मनाउने प्रचलन रहेको छ ।
देवी शक्तिपीठहरुमा कन्याकुमारीहरुले विहिवार धार्मिक महत्वका नदी र सरोवरबाट माटाका नयाँ घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै सोही जल कलश स्थापना गरेर घटस्थापना गरिन्छ । यस प्रयोजनका लागि विहिवार एकाबिहानैदेखि बस्तीबस्तीमा सदरमुकाम गौर सहित रौतहटका विभिन्न स्थानमा कलश यात्राका कार्यक्रम गरिएको थियो ।
रौतहटका प्रसिद्घ देवी शक्तिपीठ दुर्गा भगवती गाउँपालिका स्थित दुर्गा मन्दिर, राजदेवी नगरपालिका स्थित राजदेवी मन्दिर, गौर नगरपालिकाका विभिन्न स्थानमा घटस्थापनाका लागि कलश यात्रा भएको थियो । कलशयात्रामा नगरगाउँ बस्तीका आम सर्वसाधारणको सहभागिता रहेको थियो ।
कलशयात्रामा कन्याकुमारीहरुले भरेका घडाको जलबाट घटस्थापनाको कलश स्थापना गरिन्छ । घटस्थापना गरिएसँगै शक्तिपीठ र देवीका प्रतिमा बनाएर दुर्गापूजा गरिनेस्थलमा जौ, तिल, गहुँ, धान, मकैसहितको जमरा राखिन्छ । गौरको बीपी चौका, अदालत रोड, बरहवा पुल, जानकी धर्मशाला, भन्सार रोड, सिरसिया, पुरेनवा, सिसवा सहित जिल्लाका ४० भन्दा बढी ठाउँमा दुर्गा मेलाको आयोजना भएको छ । नवरात्रको प्रारम्भसँगै जिल्लाका सबैजसो गाउँनगर बस्तीमा देवी दुर्गाका भजन गुञ्जिन लागेका छन् । दशहराको आगमनले गौरमा हर्ष छाएको छ । साथै बजारमा चहलपहल पनि बढेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here