काठमाडाैं ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।
नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको शपथ सोमबार बिहान ११ बजे शितल निवासमा हुनेछ ।
गत असार १७ गते कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्नेलगायत सहमति भएको थियो। त्यसपछि एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शुक्रबार प्रतिनिधि सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि उनी पदमुक्त भएका थिए । नवनियुक्त प्रधानमन्त्रीको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। शितल निवासमा एक समारोहका बीच प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको सपथ लिनेछन्।





