जनकपुरधाम ।। गत बिहीबार सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा आगलागी हुँदा ६ दर्जनभन्दा बढी घर जलेर नष्ट भएका थिए । विष्णु–१, बाराउद्योरण गाउँमा आगलागी हुँदा स्थानीयहरुको लत्ताकपडा, अन्नपात, नगद र अन्य सरसामग्रीसमेत जलेर नष्ट हुँदा दुई करोडभन्दा बढीको क्षति भएको थियो । गाउँमै आगलागी भए पनि आगो निभाउनका लागि बारुणयन्त्र समयमा नपुग्दा बढी क्षति भएको थियो । केही दिन घि महोत्तरीको मटिहानीस्थित जरलहवा गाछीमा आगलागी हुँदासमेत बारुणयन्त्रणको अभावमा आगो नियन्त्रणमा लिन प्रहरी तथा स्थानीयलाई समस्या भएको थियो । आगलागी भएपछि महोत्तरी, धनुषा र सीमावर्ती क्षेत्र भारतबाट समेत बारुणयन्त्रलाई बोलाएर करिब ६ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । पछिल्लो समय मधेस प्रदेशको जिल्लामा आगलागीको घटना ह्वातै बढेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको अनुसार चालु आर्थिक वर्षको वैशाख २४ गतेसम्ममा १ हजार २८० वटा आगलागीको घटना भएको छ । जसमा ५२ करोडभन्दा बढीको क्षति भएको छ भने १९ जनाले आफ्नो ज्यान गुमाएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार करिब १० महिनाको अवधिमा प्रदेशको ८ वटै जिल्लामा १ हजार २८० वटा आगलागीको घटना भएको हो । जसमा ५२ करोड ५ लाख ५ हजार ९३२ रुपैयाँ बराबरको क्षति भएको छ भने ६७१ वटा कच्ची घर, ८८ वटा पक्की घर र २५७ वटा गोठ जलेका छन् । आगलागीको घटनालाई नियन्त्रण गर्नका लागि ८ हजार ४३६ जना प्रहरी समेत परिचालन गरिएको उनले बताए । प्रदेश प्रहरीको तथ्यांकअनुसार सिरहामा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । सिरहामा २३२ वटा आगलागीको घटना हुँदा ५ जनाले आफ्नो ज्यान गुमाएका छन् । यस्तै, २९ जना घाइते हुँदा ७५ वटा कच्ची, १५ वटा पक्की घर र ४२ वटा गोठ जलेर नष्ट भएको हो । यसबाट ८ करोड ४० लाख ८० हजार बराबरको क्षति भएको हो । यस्तै, सप्तरीमा १८६ वटा आगलागीको घटना हुँदा ८ करोड ७९ लाख ३६ हजार ७ सय बराबरको क्षति भएको हो । रौतहटमा १८५ वटा आगलागीको घटना हुँदा ५ करोड ९ लाख ८५ हजार ७३२ रुपैयाँ बराबरको क्षति भएको हो । धनुषामा १५५ वटा आगलागीको घटना हुँदा ८ करोड ५५ लाख ४६ हजार ७ सय, पर्सामा १३९ वटा आगलागी घटनामा ५ करोड ९६ लाख ७६ हजार ८ सय, महोत्तरीमा १३८ वटा आगलागीको घटनामा ४ करोड २४ लाख ८३ हजार ८ सय, बारामा १३० वटा आगलागी घटनामा ५ करोड ४ लाख ५७ हजार ५ सय र सर्लाहीमा ११५ वटा आगलागीको घटना हुँदा ५ करोड ९३ लाख ३८ हजार ७ सय बराबरको क्षति भएको मधेस प्रदेश प्रहरीको तथ्यांक छ । मधेस प्रदेशमा आगलागीको घटना बढ्दा पनि स्थानीय तहहरुसँग बारुणयन्त्र नै छैन । मधेसमा कुल १३६ वटा स्थानीय तह रहेकोमा जम्मा ३५ वटा बारुणयन्त्र मात्र उनीहरुसँग छ । जसमा ४ वटा बिग्रेको अवस्थामा रहेको छ । यस्तै, मधेस प्रदेश प्रहरीसँग ४ वटा बारुणयन्त्र र एउटा वाटरगण रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here