काठमाडौं ।। सूर्य तामाङको ह्याट्रिकप्रेरित वाग्मती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा वाग्मतीले मधेस प्रदेशलाई ८६ रनले पराजित गरेको हो । वाग्मतीले प्रस्तुत गरेको १९१ रनको लक्ष्य पछ्याउने क्रममा मधेसले २९ ओभरमा सबै विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । सूर्यले २९औँ ओभरमा ह्याट्रिकसँगै चार विकेट लिँदा मधेस सस्तैमा समेटियो । उनले २९औँ ओभरको पहिलो बलमा मधेसका रुपेश सिंहलाई, दोस्रो बलमा राजेश यादवलाई र तेस्रो बलमा सम्साद अन्सारीलाई पभेलियनको बाटो देखाए । उनले सोही ओभरको अन्तिम बलमा रञ्जित कुमारलाई पनि आउट गरेका थिए । नौ ओभर बलिङ गर्दा सूर्यले तीन मेडन फ्याँक्दै १८ रन खर्चिएर ६ विकेट लिए । प्रतिश जिसी र इशान पाण्डेले समान दुई विकेट लिए । मधेसका पवन सर्राफले ४५ रन बनाए । मयन यादवले ३१ र निरज यादवले १५ रन थपे । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वाग्मतीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो । वाग्मतीका प्रतिश जिसीले ५९ रन जोडे । रविन जोशीले २१, इशान पाण्डेले १५, विपीन आचार्यले १३ र कप्तान रित गौतमले १२ रन बनाए । मधेसका रुपेश सिंह र अरनिको यादवले समान दुई विकेट लिए । राजेश यादव, रञ्जित कुमार, हरिशंकर साह र पवन सर्राफले एक/एक विकेट लिए । जितसँगै वाग्मतीले तीन खेलबाट दुई अंक जोडेको छ । मधेसको पनि तीन खेलबाट दुई अंक नै छ ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा वाग्मतीकाे पहिलाे जित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।