काठमाडौँ ।। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) हटाउनु नहुने बताएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) हटाउनु नहुने बताएका हुन् ।
उनले विद्यार्थीहरुको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा विद्यार्थीहरुको गुणस्तर खस्किने बताए। उनले एसइई हटाउँदा विद्यार्थीहरुले राम्रो गर्छन् भन्नेमा आफूलाई विश्वास नभएको बताए ।
अध्यक्ष शर्माले कक्षा ८ पछि एकैपटक १२ कक्षामा परीक्षा लिँदा विद्यार्थीहरुको उत्तिर्ण हुने दर घट्ने उल्लेख गरे। उनले कक्षा १० मा अनुत्तिर्ण हुने विद्यार्थी पुनः भर्ना भएर पढ्नसक्ने तर कक्षा १२ मा विद्यार्थी अनुत्तिर्ण भए उमेरको कारणले पनि पुनः पढ्न मन नगर्ने मनोवैज्ञानिक पाटोको पनि ख्याल गर्नुपर्ने बताए ।
उनले कक्षा १० मा परीक्षा आवश्यक रहेको, बरु कक्षा १० को परीक्षा केन्द्रले नगरिकन प्रदेश तहले गर्नसक्ने उल्लेख गरे। उनले कोभिड १९ को महामारीपछि कक्षा ११ को परीक्षा पनि सम्बन्धित विद्यालयले नै लिइराखको उल्लेख गर्दै सो कक्षामा शतप्रतिशत विद्यार्थी उत्तिर्ण भइराखेका बताए ।
कक्षा ११ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण हुने तर कक्षा १२ मा आधा विद्यार्थी अनुत्तिर्ण हुने हुँदा विद्यालयले गर्ने मूल्यांकनमाथि पनि प्रश्न उठ्ने उनको भनाइ छ ।
राष्ट्रिय परीक्षा बोर्डको सुझावः एसइई नहटाऔँ, विद्यार्थीहरुको गुणस्तर खस्किनछ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।