काठमाडौं ।। केकमा गाँजा मिसाएर बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरोले गत शुक्रबार काठमाडौं महानगरपालिका-१९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले घट्टेकुलोबाट पक्राउ गरेको एसपी चक्रराज जोशीले जानकारी दिए । नामको अकाउन्ट बनाएर गाँजा मिसाएर मफिन लगायत केक बनाएर बिक्री गरिरहेको भन्ने सूचना ब्युरोले पाएको थियो। उक्त सूचनापछि प्रहरी उनको कोठामा पुगेको थियो । त्यहाँबाट प्रहरीले गाँजाको १२१ ग्राम धुलो, तयारी अवस्थाको केकको १७८ ग्राम झोल, ३ किलो ७५४ ग्राम गाँजा, एउटा डिजिटल तराजु, एउटा ओभन, एटिएम, लगायत बरामद गरेको छ । पक्राउ परेका विशनले आफ्नो घरमा एक वर्षदेखि गाँजा मिसावट गरिएका केक बनाएर अनलाइन डेलिभरी गर्ने गरेको एसपी जोशीले बताए। उनको इन्स्टाग्राम पेजमा ६१४ जना फलोअर्स समेत छन् । अनुसन्धानको क्रममा उनले गाँजाको केकको मेनु नै बनाएको पनि खुलेको छ । द इपिपहेन्सी ब्रेड, ह्यापी कप्स, बज लाइटीयर, न्यास्टी क्यान्डी लगायत नामका केकहरू बनाएर बेच्ने गरेको पाइएको हो। यसरी उनले केक बनाएर इनड्राइभमार्फत बेच्ने गरेको पनि प्रहरीले जनाएको छ ।





