सर्लाही ।। सर्लाहीको बरहथवामा कर्फ्यू हटाए पनि निषेधाज्ञा लागू गरिएको छ । शुक्रवार प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियाे ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शनिबार आदेश जारी गर्दै आइतबार बिहानसम्म निषेधाज्ञा लागू गरिएको जनाएका छन्। शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म बरहथवामा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।
बरहथवाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुल क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ। यसअघि शुक्रबार साँझदेखि आज बिहान ८ बजेसम्म कर्फ्यू लगाइएको थियो ।
स्तरोन्नति गरिएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मधेश प्रदेशलाई हस्तान्तरण गर्ने कि स्थानीय सरकारले नै सञ्चालन गर्ने भन्ने विषयमा विवाद भएको थियो। यसअघि नगरपालिकाले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो तर अहिले आएर आफै सञ्चालन गर्ने भएपछि विवाद भएको हो ।
शुक्रबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। प्रहरीले गोली चलाएपछि स्थानीय जयशंकर साहको मृत्यु भएको थियो ।
अझै पनि बरहथवाको जनजीवन सामान्य बनेको छैन।





