जनकपुरधाम ।। आर्थिक वर्ष २०७९–८० मा मधेश प्रदेशका उद्योगहरूको उत्पादनमा वृद्धि भएको देखिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अन्तर्गत मधेश प्रदेशसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदन अनुसार नमूनामा परेका यो क्षेत्रमा उद्योगहरूको उत्पादन औसतमा २८.७३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने यस्तो वृद्धि औसतमा २.१७ प्रतिशत थियो ।
कागज र कागजका समान उत्पादन गर्ने उद्योगहरूको यस्तो वृद्धि सबैभन्दा धेरै ३ सय ३१ प्रतिशत देखिएको हो। घातुका वस्तुहरूको उत्पादन गर्ने उद्योगको उत्पादन भने सबैभन्दा धेरै ४४.७४ प्रतिशतले ह्रास आएको छ ।
उद्योगहरूको क्षमता उपयोग भने घटेको छ। यस्तो क्षमता औसतमा ५४.२५ प्रतिशत छ। अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा यी उद्योगहरूको औसत क्षमता उपयोग ६१.५२ प्रतिशत थियो ।
समीक्षा वर्षमा सुर्तीजन्य वस्तु उद्योगले सबैभन्दा बढी ९१.०५ प्रतिशत र छाला र छालाको समान उद्योगले सबैभन्दा कम १०.२३ प्रतिशत क्षमता उपयोग गरेको देखिन्छ।
सबैभन्दा बढी क्षमता उपयोग गर्ने ५ वटा उद्योगहरूमा सुर्तीजन्य वस्तु, पेय पदार्थ, लत्ता कपडा, अन्न तथा पशुदाना र धातुका उपकरण उत्पादन गर्ने उद्योगहरू छन्। औद्योगिक क्षेत्रका ३० वटा उद्योग नमूनाको रुपमा लिइएको थियो।
बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा ७.३० प्रतिशतले वृद्धि भएको छ। यस्तो कर्जा १ खर्ब ९ अर्ब ५९ करोड रूपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा यस्तो कर्जा १ खर्ब २ अर्ब १३ करोड रूपैयाँ थियो । स्राेत- सेताेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here