नयाँ दिल्ली, भदौ २९ । भारत, पश्चिम बंगालकी रानु मन्डलको चर्चा जति धेरै भइरहेको छ, उनको पहिलो गीत ‘तेरी मेरी कहानी..’ को पनि उत्तिकै चर्चा चुलिएको छ। रानाघाट रेलवे स्टेशनमा गीत गाएर आफ्नो गुजारा गर्दै आएकी रानु अहिले बलिउड गायिका बनिसकेकी छन्। उनले ‘एक प्यारका नग्मा है’ गाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै उनी टिभी र सञ्चारमाध्यममा छाएकी हुन्।

लता मंगेशकरलाई उनकै गीत गाएर चर्चा कमाएकी रानुका बारेमा भनेकी थिइन्- यदि मेरो नाम र कामबाट कसैलाई राम्रो हुन्छ भने म आफूलाई भाग्यमानी ठान्छु। तर मलाई यो पनि लाग्छ, सफलताका निम्ति नक्कल गरेको काम भरपर्दो र दिगो हुँदैन। किशोरदा (कुमार) वा रफी साब (मोहम्मद रफी) वा आशा (भोस्ले) वा अरू कसैका गीत गाएर सम्भावना भएका र नयाँ गायकहरूले आफूतिर ध्यान बटुल्न सक्छन्। तर त्यो छोटो हुन्छ। यो सफलता लामो समय रहँदैन।

लताले सबैलाई आफ्नो पहिचान खोज्ने सन्देश दिएको भए पनि रानु मन्डलका प्रशंसकहरूले नराम्रो मान्दै सामाजिक सञ्जालमा असन्तुष्टि देखाउँदै आएका छन्।

रानुको पहिलो गीत सार्वजनिक कार्यक्रममा गायक हिमेश रेशमियाले पनि रानुको समर्थन गर्दै ‘रानुको स्वर लताजीको नक्कल होइन’ भनेका थिए। हिमेशले नै रानुलाई आफ्नो फिल्म ‘ह्याप्पी, हार्डी एन्ड हीर’ का लागि गीत गाउने अवसर दिँदै बलिउडमा प्रवेश गराएका हुन्।

यसै सन्दर्भमा रानुले पनि नवभारत टाइम्सलाई दिएको अन्तर्वार्तामा लता मंगेशकरका भनाइमाथि टिप्पणी गरेकी छन्।

‘लताजी भन्दा उमेरमा म धेरै सानी छु,’ ६० वर्षीया रानुले भनेकी छन्, ‘र, सधैं उहाँभन्दा सानी (जुनियर) नै हुनेछु। केटाकेटी बेलादेखि नै उहाँको स्वर मनपर्छ। त्यही सुन्दै हुर्केकी हुँ।’

रानु मन्डलले ‘तेरी मेरी कहानी’ बाहेक हिमेशकै साथमा अरू दुइटा गीत ‘आदत…’ र ‘आशिकी में तेरी…’ गाइसकेकी छन्। यी गीत पनि चाँडै रिलिज हुने क्रममा छन्। रानु र हिमेश रेशमियाको भेट सोनी टिभीको कार्यक्रम ‘सुपरस्टार सिंगर’ मा भएको थियो। त्यही मञ्चमा रानुको स्वर सुनेर कायल भएका हिमेशले आफ्नो फिल्ममा गाउन उनलाई अनुरोध गरेका थिए।

गीत सार्वजनिक कार्यक्रममा हिमेशले रानुका बारेमा आफ्ना भावना उजागर गर्दै भनेका थिए, ‘हामी कुनै प्रतिभालाई अगाडि बढाउन खोजिरहेका छौं भने हामीलाई लाग्छ हामीले केके न गर्यौं। खासमा हामीले केही गरेका हुँदैनौं। सबै भगवानको लीला हो र हामी केबल कठपुतली हौं। हाम्रोतर्फबाट जे हुन सक्थ्यो, हामीले गर्यौं। अब तपाईंको पालो हो रानु मन्डललाई अगाडि बढाउने।’

हिमेशले रानुको जिम्मेवारी दर्शकलाई दिँदै थपे-  जहाँ यस्तो प्रतिभा देख्नुहुन्छ, अगाडि बढाउनुहाेस्। किनकि मलाई पनि कसै न कसैले सहयोग गरेको थियो। त्यही भएर यहाँसम्म आइपुगेको हुँ।

बाटामा मागेर गुजारा गर्दै आएकी रानुको बदलिएको जीवनका लागि धेरैलाई शुभकामना दिएका छन्। उनलाई ‘रानाघाटकी लता मंगेशकर’ भन्दै प्रशंसकहरूले खुबै सरहाना गरेका छन्।  

सभार – सेताेपाटी

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here