सर्लाही ।। सर्लाहीको हरिपुर्वामा बिहीबार गोली प्रहार गरी एक सहकारीको पाँचलाख रुपैयाँ लुटिएको छ । लुटेराले गोली हवाई फायर खोलेर रकम लुटेर लगेका हुन् ।
हरिपुर्वा नगरपालिका–५ स्थित जयगंगा बचत तथा ऋण सहकारीको शाखा कार्यालय बसन्तपुरका लागि एनआईसी बैंकबाट निकालिएको ५ लाख रकम लुटपाट भएको हो । हरिपुर्वास्थित एनआईसी बैंकबाट जयगंगा सहकारीका शाखा प्रबन्धक रामनाथ राय तथा त्यहाँका कर्मचारी नीरा रायले ५ लाख नगद झिकी शाखा कार्यालयतर्फ जाने क्रममा हरिपुर्वा–६ हनुमान चोक नजिकबाट लुटपाट भएको जयगंगा सहकारीका अध्यक्ष गणेश कुमार यादवले बताए ।
उनका अनुसार बैंकबाट पैसा भिकेर ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा जाँदै गरेका शाखा प्रबन्धकको टोलीलाई नम्बर नखुलेको अपाचे मोटरसाइकलमा सवार दुई जनालेले रोकेर पैसाको झोला मागेका थिए । पैसाको झोला दिन नमानेपछि लुटेरा समूहले हवाई फायर गरेर नगद बोकेको झोला लिएर महोत्तरीतर्फ फरार भएका छन् । लुटेराको पहिचान भने हुनसकेको छैन ।
सर्लाही प्रहरीले लुटपाटमा संलग्नको खोजी तीव्र पारिएको जनाएको छ । सहकारीको रकम लुटपाटको बारेमा सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियारले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here