राैतहट ।। राैतहट सहित तराइ मधेमा सूर्य उपासनाको महापर्व छठ पर्वका लागि पूजा स्थलको तयारी गरिँदै  । छठ पर्व नजिकिँदै गएपछि राैतहटको विभिन्न पोखरीलाई स्थानीयवासीहरूले श्रृङ्गार्न थालिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको छ । प्रत्येक वर्ष छठ मनाउनेहरू वृद्धि भइरहेकाले यस पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीयहरूले बताए ।  छठका लागि वर्तालुले आजका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यबस्तु खान छाडेर वर्तालुले छठको तयारी गर्ने चलन छ । व्रतका लागि उसिनिएको धानको चामल र व्रत अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्य वस्तु खान छाडेर सात्विक भोजन गरिने यो विधिलाई ‘अरबा–अर्बाइन’ भनिन्छ । यो व्रतका लागि पूर्वसङ्कल्प जस्तै विधि रहेको मानिन्छ । यो विधि कतिपयले चौथिकै दिन ‘नहाय–खाय’ विधिसँगै जोडेर गर्नेगरेका पनि पाइन्छ । आजदेखि ‘अरबा–अर्बाइन’ गरेका वर्तालुले भोलि शुक्रबार अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अर्घ्य दिइन्छ । यो अर्घ्यलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया–घाट’ पनि भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ । बिहानको यो अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ । यसरी यसपालिको छठ आउने सोमबार बिहान सम्पन्न गरिने छ । सामान्यतया हिन्दू परम्परामा पाञ्चायन (पञ्च देवता गणेश, विष्णु शिव, सूर्य र काली) पुज्दा उदाउँदा सूर्यको सम्झना गरेर उपासना गरिने परम्परा भए पनि छठमा भने अस्ताउँदा सूर्यलाई अग्र (पहिलो) अघ्र्य दिइन्छ । षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिएसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेल वर्तालुले सूर्यको महत्ता र ‘छठी माई’को पुकारा गर्दै गीत गाएर यो पर्व मनाउने गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here