जनकपुर ।। नेकपा एमालेको मधेश प्रदेश अधिवेशनमा नेतृत्वका लागि चारजनाले आकांक्षा देखाएका छन् । बुधवार देखी जनकपुरधाममा सुरु भएको अधिवेशनमा सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका राजकिशोर यादवले अध्यक्ष पदमा आकांक्षा देखाएका हुन् ।
वर्तमान प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकाले उनी अध्यक्षमा दोहोरिन नपाउने पार्टीको निर्णयअनुसार अन्य नेता प्रतिस्पर्धामा उत्रिएका हुन् ।
उद्घाटनसत्र पश्चात् जारी बन्द सत्रमा प्रदेशको नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको पार्टीका केन्द्रीय सचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए ।
छलफलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, मधेश इन्चार्ज योगेश भटृराई, कोसी इन्चार्ज रघुवीर महासेठ, धनुषा इन्चार्ज लीलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुलीकुमारी महतोलगायत पोलिटब्युरो सदस्य सहभागी छन् ।
सचिव भट्टराईले मधेस प्रदेशको नेतृत्वका लागि चार नेता आकांक्षी देखिए पनि सर्वसम्मत नेतृत्व चयन गराउने प्रयासमा भइरहेको र पार्टीमा तलदेखि माथिसम्म सबै एक ढिक्का रहेको सन्देश दिने उद्देश्यका साथ सर्वसम्मत गराउने प्रयास भइरहेको बताए । सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन हुने उनको भनाइ छ ।





