जनकपुरधाम ।। उत्तेजित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास महाराजलाई तत्काल रिहाइ गर्न जनकपुरधामका साधुसन्तहरुले माग गरेका छन् । बुधवार रामानन्दिय वैष्णव सङ्घले पत्रकार सम्मेलन गर्दै धर्मगुरु आचार्य श्रीनिवास बिना सर्त तत्काल रिहा गर्न माग गरेको हो । आचार्यलाई यथाशीघ्र बिनसर्त रिहा नगरे आन्दोलन गर्ने चेतावनी समेत साधुसन्तहरुले दिएका छन् । संघका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले सनातन धर्मगुरु श्रीनिवास आचार्यलाई तत्काल रिहाइ गर्न माग गरे । उनले धर्मगुरुलाई रिहाइ नगरे जनकपुरधाममा प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिए । अर्का वक्ता महन्थ दासले श्रीनिवास आचार्यले गौहत्या गर्नेहरु विरुद्ध चर्को अभिव्यक्ति दिएको स्विकार्दै आत्मरक्षा स्वरूप खुकुरी देखाएको बताए । उनले हाम्रो देशमा गौहत्या गर्नेलाई केही नगर्ने तर गौ रक्षा प्रति टिप्पणी मात्र गर्नेलाई पक्राउ गरिएको भन्दै प्रशासनको सो कदमको निन्दा गरे । असोज १२ गते गौहत्याविरुद्ध विश्व हिन्दु परिषद्ले निकालेको विरोध र्यालीमा बोल्दै धर्मगुरु श्रीनिवास आचार्यले हातमा खुकुरी देखाउँदै गौ हत्या गर्ने विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले मङ्गलवार सुनसरीबाट नियन्त्रणमा लिएको थियो ।
आचार्य श्रीनिवासलाई रिहा गर्न साधुसन्तको माग
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।