काठमाडौँ ।। मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ।
यससँगै नेपाल लगातार तेस्रो जितका साथ समूह ‘ए’को शीर्षस्थानमा उक्लिएको छ। आइतबार बिहान भएको खेलमा भुटान तीन विकेटले पराजित भएको हो । बांगीस्थित यूकेएम–वाईएसडी ओभलमा जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा कप्तान रुविना क्षेत्री २३ बलमा १ चौकासहित १२ रनमा अविजित रहिन्। कविता जोशी २० बलमा १ चौकासहित ९ रनमा आउट भइन्। सीता रानामगर ११ बलमा १ चौकासहित ८ रनको योगदान दिइन् ।
भुटानकी अन्जुली घलेले ३ विकेट लिइन्। क्षिरिङ जांग्मोले २ तथा अन्जु गुरुङले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनायो ।
भुटानकी कप्तान डेचेन वांग्मोले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रन बनाइन्। छिरिङ जाङ्मोले ६ तथा सोनाम छोदेनले ३ रन जोडे ।
नेपालकी तीव्र गतिकी बलर पूजा महतोले ३ विकेट लिइन्। कप्तान रुविना क्षेत्री, खुशी डंगोल र कविता कुँवरले समान १/१ विकेट लिए ।
नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले अब मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ।
टी-२० महिला विश्वकप : भुटानमाथि नेपालको जित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।