काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र नेकपा नेता प्रभु साहले एसिड आक्रमणबाट पीडित पर्सा जिल्लाकी मुस्कान खातुनलाई न्याय दिलाउने वाचा गरेका छन्। कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा रहेकी खातुनलाई भेट्न पुगेका नेताद्वय यादव र साहले उनको उपचारमा कुनै कमी नगर्न अस्पताललाई अनुरोध गरे।
‘म पनि यही छु, पार्टीका प्रदेश अध्यक्ष प्रभु साह पनि यहि हुनुहुन्छ, हामी यस विषयमा चिन्तित छौँ र यसलाई गम्भीरतापूर्वक लिएका छौँ’, मन्त्री यादवले भने,’एउटा निर्दोष बालिकामाथि यसरी जुन आक्रमण भएको छ यो ठूलो अपराध हो, यस्ता खालका अपराधमा संलग्नलाई कुनै पनि हालतमा माफ गर्न सकिदैन।’
वीरगंजस्थित रेशमकोठीको त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार विहान ६ बजेतिर गणेशमानचोक नजिकै एसिड प्रहार भएको थियो। एसिडले पोलेर चिच्याउन थालेपछि स्थानीयले उनलाई अस्पताल पुर्याएका थिए।
मुस्कानको अनुहार हात र शरीरको केही भाग एसिडले जलेको छ । नारायणी अस्पतालमा प्रारम्भीक उपचार गरेर उनलाई काठमाडौं ल्याइएको हाे। अहिले उनको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। श्राेत अनपुर्णपाेष्ट