काठमाडाैं ।। नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त हुनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यलाई बिहान मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
उहाँले दिउँसो साढे १२ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गर्दै हुनुहुन्छ ।
आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी भए पनि निश्चित भइनसकेको प्रधामन्त्रीको निजी सचिवालयले जनाएको छ । अहिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएर आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको हो ।
नवनियुक्त मन्त्री आचार्य गएको मंसिर ४ गते भएको चुनावमा कपिलवस्तु–२ बाट विजयी हुनु भएको थियो ।





