रौतहट ।। रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । गरुडा नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्नेक्रममा प्रहरीमाथि आक्रमण भएसँगै हवाई फायर भएको हो । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । दीपक यादव नेतृत्वको समूहले गरुडा नगरपालिका अगाडि गरेको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय यादव घाइते भएका हुन् । घाइते यादवलाई गरुडामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाइएको छ ।
अवस्था साम्य पार्न प्रहरीले १६ राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदीलाल कामतीले बताए । दर्जनौं मानिसको समूह लिएर गएका यादवले नगरालिकाको कार्यालय अगाडि विभिन्न भड्काउ भाषण गरिरहेका थिए । सोही क्रममा सो समूह तोडफोडमा समेत उत्रिएको थियो । सोक्रममा प्रदर्शनकारीले प्रहरीमाथि एक्कासि ढुङ्गा मुढा गर्न सुरु गरेपछि झडप सुरु भएको थियो।
पछिल्लो समय दीपक यादव गरुडा नगरपालिकाबाट विभिन्न सूचनाको माग गर्दै आन्दोलनमा छन् । उनी सूचना माग गर्दै आमरण अनसन समेत बसेका थिए । उनको माग अनुसार दिन मिल्ने सूचना दिएको तथा भोलि सार्वजनिक सुनुवाइ कार्यक्रम समेत आयोजना गरेको अवस्थामा आज सो घटना हुन पुगेको हो । प्रहरीले दीपक यादवसहित चारजनालाई नियन्त्रणमा समेत लिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here