काठमाडौं ।। निर्वाचन आयोगले राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उमेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ ।
आयोगको आज बसेको बैठकले उपराष्ट्रपति पदको निर्वाचनका लागि उमेदवारको मनोनयनपत्र दर्ता सम्बन्धमा निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता हुँदै छ । राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने संवैधानिक प्रावधान छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा “यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेको छ ।
साथै, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेको छ ।












