सर्लाही ।। सर्लाहीको बरहथवा नगरपालिका वडा नम्वर ११ का पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । ग्रामीण विद्युत् सहकारी संस्थामार्फत २०६७ सालदेखि बिजुली बत्ती बाल्दै आएका स्थानीयवासी गएको मङ्सिर २७ गतेदेखि अन्धकारमा बस्नुपरेको हो । सहकारी संस्थाले बिजुलीको बक्यौता रकम चुक्ता नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले बरहथवा ११ को हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँमा बत्ती काटेको छ । बिजुली नहुँदा बरहथवा नगरपालिका–११ स्थित वडा कार्यालयमा अनलाइनबाट हुने सम्पूर्ण काम प्रभावित बनेको छ । बत्ती नरहेकाले अनलाइनबाट हुने घटना दर्ताका लागि सेवाग्राहीलाई नगरपालिका कार्यालयमै पठाइरहेको वडा सचिव धिरेन्द्र रायले बताउनुभयो । विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाका उपाध्यक्ष रामकृष्ण चालिसेले सुरुमा जसरी पनि गाउँमा बत्ती बाल्नुपर्छ भनेर सामुदायिक विद्युतीकरण गरिएको भए पनि कतिपय ग्राहकले पैसा नबुझाउँदा विद्युतको लाइन काटेको बताउनुभयो । ग्रामीण विद्युतीकरण असफल भएपछि सोझै विद्युत प्राधिकरणबाट घर–घरमा मिटर राखेर प्राधिकरणले नै मिटर रिडिङ गर्ने व्यवस्था मिलाउन लागिएको बरहथवा ११ का वडाध्यक्ष नवराज राईको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले बरहथवा ११ को सामुदायिक विद्युतीकरणलाई प्राधिकरणमै गाभ्ने प्रक्रिया अघि बढाएको छ । १३ लाख रुपैयाँ बक्यौता नगरपालिकाले तिर्ने सहमतिपछि सो गाउँमा मिटर जडान गरेर बत्ती सूचारु गर्ने तयारी भइरहेको वितरण केन्द्रका सुपरभाइजर छोटेलाल यादवले बताउनुभयो । सहकारीको बद्मासीले दुई महिनादेखि विद्युतीय उपकरण सञ्चालन गर्न नपाएका र अन्धकारमा रात काटिरहेका स्थानीयवासी जतिसक्दो चाँडो विद्युत सूचारु हुने अपेक्षामा छन् ।





