रौतहट ।। रौतहट सहित तराईका जिल्लाहरुमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घर बाहिर निस्कन समस्यामा परेका छन् । बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् । सधैँजसो भीडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही पातलिएका छन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् ।
साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार संसाँझै सुनसान हुन थालेका छन् । यद्यपि न्याना कपडाका पसलमा भने ग्राहकको भीड बढेको देखिन्छ ।
बाक्लो हुस्सु र शीतका कारण रौतहटका विभिन्न भागमा चलने यातायात सञ्चालन पनि प्रभावित भएको छ । कठ्याङ्ग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्दा सवारीसाधनको आवागमनमा असर परेको हो । बाक्लो हुस्सुले गर्दा बिहान १० मिटरभन्दा पर देख्न नसकिँने गौर–जनकपुर रुटमा चल्ने बसका चालकहरु बताउछन । यसले गर्दा दुर्घटनाको जोखिम बढेको चालकहरुको भनाइ छ ।
चिसोकै कारण जिल्लामा बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पु¥याउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।
बढ्दो चिसोका कारण खेतीबालीमा समेत असर पर्न थालेपछि कृषकहरू चिन्तित भएका छन् । खेतबारीमा लगाएका मुसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली र काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्षरूपमा चिसोबाट प्रभावित भएको रौतहट–०६ का किसान राम सरोज साह बताए ।
शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको स्थानीय तहहरुले बताइरहे पनि व्यवहारमा देखिएको छैन ।
शीतलहरले राैतहटसहित मध्यतराईकाे जनजीवन कष्टकर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।