काठमाडौं ।। पुस महिना लागेसँगै देशभरि नै चिसो बढेको छ । तराइमा बिहान शितलहर र हुस्सु लाग्ने अनि हिमाली जिल्लामा हिउँ पर्न सुरु भएको छ । चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएका छन् । पुस लागे यता नै देशभर चिसो बढेको भए पनि केही दिन यता परिवर्तन भएको मौसमका कारण थप चिसो बढेको हो । चिसोले गर्दा बिहान घरबाहिर निस्कन र घर तथा बारीको काम गर्न मुस्किल परिरहेको स्थानीयवासी बताउँछन् । बिहानै खुल्ने पसल र बजार ढिलो गरी खुल्न थालेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार क्षेत्र सम्साझैँ सुनसान हुन थालेका छन । यद्यपि, न्याना कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ । चिसोकै कारण देखिएको समस्या लिएर अस्पताल पुग्ने बिरामीहरू पनि बढिरहेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरो लगायत रोगका बिरामी बढेको डडेलधुरा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चेतराज भट्टले बताउनुभयो । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोग भएकालाइै चिसोले थप जोखिममा पार्ने भएकाले स्वास्थ्यको विशेष ख्याल राख्न डाक्टरहरूको सुझाव छ । न्यानो कपडा लाउन, घाममा बस्न, तातो र झोलिलो खानेकुरा खान डाक्टरहरूको आग्रह छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।